दफा ५९
खानतलासीको अधिकार
(१)“ यस ऐन बमोजिम सजाय हुने कसुर भएको छ भन्ने मनासिब कारण भएमा कम्तीमा राजपत्र अनङ्कित द्वितीय श्रेणीसम्मका वन प्राविधिक कर्मचारी वा सहायक प्रहरी निरीक्षक दर्जाका कर्मचारीले प्रचलित कानून बमोजिम कुनै स्थानको खानतलासी गर्न सक्नेछ। स्पष्टीकरण: यो दफाको प्रयोजनको लागि "स्थान" भन्नाले स्थायी वा अस्थायी भवन वा टहरा सम्झनु पर्छ र सो शब्दले खाली जग्गा, पाल, डुङ्गा तथा विभिन्न किसिमका सवारी साधनलाई समेत जनाउँछ।

(२) उपदफा (१) बमोजिम खानतलासी गर्ने व्यक्तिले खानतलासी गर्नु पर्ने कारण खोली खानतलासी गर्ने स्थानको धनी वा तत्काल सो स्थान प्रयोग गरिरहेको व्यक्तिलाई सो स्थानमा प्रवेश गर्नुभन्दा अगावै सूचना दिएर मात्र खानतलासी गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम खानतलासी गर्दा सम्बन्धित स्थानीय तहको कम्तीमा एक जना पदाधिकारी वा सदस्य तथा कम्तीमा दुईजना साक्षी राखी निजहरुको रोहबरमा गर्नु पर्नेछ।

(४) मानिस बसोबास गरेको घरमा खानतलासी गर्नु परेमा सो घरमा महिला भए हट्ने सूचना र मौका दिनु पर्नेछ।

(५) यस दफामा लेखिएका कुनै कुराले खानतलासी गर्ने कर्मचारीलाई सूर्यास्त देखि सूर्योदय नभएसम्म मानिस बसोबास गरेको घरमा प्रवेश गर्न पाउने अधिकार हुने छैन।